यो वर्ष मध्य र पूर्वी तराईमा पानी नपरी हिउँद गयो । पहाड र हिमालका अधिकतर ठाउँमा पानी परेन । देशभरको हिसाब गर्दा गएका हिउँदमा औसतको एक चौथाई मात्र पानी पर्‍यो (हे. चित्र १)। वर्षा ऋतु शुरु हुन अगाडी बैशाख र जेठ महिनामा पनि उति राम्रो पानी परेन। असारमा औसत भन्दा धेरै वर्षा भयो र साउनमा पनि त्यस्तै होला जस्तो छ (हे. चित्र २)। तैपनि हिउँदमा फेरि खडेरीले सताउने हो कि भन्ने त्रास छ।

Graph 1
चित्र १ हिउँद अवधिको औसत वर्षा र गत हिउँदको वर्षा
Graph 2
चित्र २ मनसुन अवधिको औसत वर्षा र यसपटक हालसम्मको वर्षा

स्रोतः जल तथा मौसम विज्ञान विभाग

आजकल वर्षाको प्रकृति बदलिएको छ। ‘ओछ्यान मै हिउँ पार्ने’ गरी पानी पार्ने माघे झरी र ‘कर्सामै मूल पलाउने गरी’ झमझम पर्ने साउने झरी’ केही बुढापाका मान्छेका सम्झनामा मात्रै होलान्‌। नत्र एकादेशका कथा भैसके। हामीले विकास निर्माण, खेतिपाति, चरनधरन गर्दा जमिनको गुण नबिग्रने गर्नु पर्नेमा झन बिग्रेको

छ। त्यसैले हाम्रा पाखा पखेरा, उपत्यका, मधेशमा वर्षाको पानी राम्ररी सोस्न र सञ्चय गर्न सक्ने क्षमतामा ह्रास हुँदै गएको छ।

एकातिर वर्षाको प्रकृति बिग्रेको, अर्कोतिर जमिनको सोस्ने शक्ति खलवलिएको अवस्था छ अहिले। यस्तो स्थितिमा उत्ति वा बढी परिमाणमा पानी परे पनि एकछिन मुसलधारे पानी परेर बिदो भयो भने जमिनमा कम मात्रै पानी अडिन्छ। बढी पानी चाहिँ उतिखेरै बगेर जान्छ। यसरी बगेर जाने पानीले सँगसँगै माटो बगाएर लान्छ, पहिरो र बाढी जगाउँछ। उता हिँउदमा कम पानी परेपछि मूल चाँडै सुक्छन्। यसरी पानीको सन्तुलन बिग्रिएर ज़मीन सुख्‍खा हुन थाल्छ। आजकल यस्तै हुँदैछ – वर्षायामको पहिलो झरि मै बाढी पहिरोको उत्पात, वर्षा रोकिएको केही दिन मै मूल सुकेर खानेपानीको समस्या।

हिउँदमा पानी जोहो गर्न हामीले वर्षायाममा आएको पानीलाई सकेसम्म बढी जमिनमा सोस्‍ने र जलाधारमा अडिने वातावरण मिलाउनुपर्छ। दक्षिण अमेरिकी देश–पेरूमा पनि यस्ता समस्या परेका थिए। त्यहाँका स्थानीय मानिसले सिमित समयमा परेको पानीलाई जलाधारमा सञ्चित गरेर अर्को ऋतुमा हुने सुख्खाको सामना गरेका अनुभब छन्‌। हाम्रो छिमेकी देश भारतमा पनि यस्ता कैयौं सफल उदाहरण छन्‌। मध्य प्रदेशका धेरै समुदायले वर्षाको पानी संग्रह र संरक्षण गरेर सुख्‍खाको सफलतापूर्वक सामना गरेका छन्।[i]

हाम्रो हिमाली धरातलसँग मिल्दोजुल्दो पेरूको अङ्कश क्षेत्रमा वर्षा/हिमपातको प्रकृतिमा बदलाव आएको छ। अङ्कश क्षेत्रमा किसानले वर्षा र हिमपातबाट परेको पानीलाई जमिनमा सोस्न र संरक्षण गरेर राख्‍न गरेका प्रयाशहरू हामीले यहाँ पनि गर्न सकिने खालका छन्। प्रयाश सामान्य लाग्न सक्छन् तर पर्यावरणीय हिसावले अत्यन्तै महत्वपूर्ण छन् । उनीहरूले हिउँपर्ने उपल्लो क्षेत्रमा स-साना कुलेसा बनाएर हिउँ थुप्रिन, पग्लेपछि पाखाभित्र सोसिने व्यवस्था गरेका छन्। पाखामा परेको हिउँ छिट्टै पग्लन्छ भने कुलेसोमा लामो समयसम्म थेगिन्छ। ठुला खाडल भन्दा मिलाएर बनाइएका धेरै संख्यामा रहेका कुलेसाहरू पाखाका वोट विरुवा र घाँसपातलाई मात्र नभई पहाडको फेदीतिरका मूहानहरूमा आउने पानी र जलाधारमा पानीको सन्तुलन कायम राख्‍न निकै उपयोगी हुन्छन्। ‘वृक्षारोपण जस्तै यो एक किसिमको जलरोपण हो।’ हामीलाई भ्रमणमा लगेका पेद्रो फारादासले भनेका थिए।

पानीको सदुपयोगमा समेत उनीहरू किफायती उपाय अपनाउँछन्। कम पानी चहिने, जमिनको चिस्यान कायम गरेर उब्जाउन सकिने वाली छनोट गर्छन्‌ । उनीहरूले हावापानीमा अनुकूल हुन सक्ने क्षमता भएका रैथाने जाति-प्रजातिका वालीनालीको अनुसन्धान र विकास गरेका छन्‌।[ii] स-साना र प्रकृति-मैत्री यी स्थानीय पहलका साथै अङ्कसका किसानले आफुहरूले संरक्षण र सम्बर्द्धन गरेका रैथाने जातका आलु र मकैको बारेमा हामीलाई बताएका थिए।

पानी जोहोका लागी नेपालमा गर्न सकिने अनगिन्ति उपाय छन्। सबैभन्दा असल अभ्यास त हाम्रै परम्परागत पोखरी हुन्। तराई, पहाड, हिमाल जताततै सार्वजनिक प्रयोजनका लागि पोखरी खन्ने, वरपिपल वा अरु छहारी दिने रुख रोप्ने हुर्काउने, बिसाउने चौतारो बनाउने, बाटो सोहोर्ने (बाटो सफा गर्ने साथै मरम्मत गर्नेलाई भनिने – खासगरी दशैंमा यो झारा लगाएर गर्ने चलन थियो) सँस्कार थिए हाम्रो समाजमा। यस्ता कामलाई यज्ञ गर्नु, तीर्थ जानु र अन्य दान भन्दा पनि उत्तम धर्मकर्म मानिन्थ्यो। यी कामले अरुलाई पनि अभिप्रेरित गर्थै। कुवा खनेको घाँसीका कुराले नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यलाई आफुले त्यस्तो असल काम गर्न नसकेकोमा आत्मग्लानि भएको थियो।

कुवा, इनार खन्ने, डाँडामा पोखरी बनाएर वर्षाको पानी एकत्रित गरी सङ्कलन गर्ने अभ्यास प्रकृतिसँग अनुकूल त हुन् नै, सबैभन्दा उचित वैज्ञानिक स्थानीय उपाय पनि हुन्‌। टोलैपिच्छे पोखरी जतन गरे वर्षामा भल बाढी कम हुन्छ, जम्मा भएको पानी हिउँदमा प्रयोग गर्न हुन्छ, पानी सोसिएर इनार, कुवा, मूलमा पानी आइरहन्छ। पोखरी ठुलो छ भने त माछा पाल्न पनि सकिन्छ। पोखरी सफा राख्‍ने र कोही नडुबून् भनेर सुरक्षात्मक उपाय भने अपनाउनु पर्छ।

कङ्क्रिटका पोखरी बनाएर वा पोखरीका पिँधदेखि डिलसम्म प्लाष्टिक विछ्याएर पनि वर्षाको पानी सङ्कलन गर्न सकिन्छ। यस्तो प्रविधिले साना खेती र अकाशे पानी सङ्कलन र आपूर्ति हुन्छ तर प्राकृतिक जल-चक्रलाई त्यति आड हुँदैन किनभने यसबाट जमिन सिञ्चित हुन पाउँदैन।

यदि हामीले खाने पानीको आपूर्तिलाई निरन्तर गर्नु छ भने त्यसको मूहानबाट सधैं पानी आइरहनै पर्छ। वर्षाको पानी सोसिएर जलाधार पुनर्भरण नभए मूल, इनार, चापाकल, बोरिङ्ग आदिबाट हामीले निकालेको पानी कसरी परिपूर्ति हुन्छ त?  सो नहुँदा अहिले पहाडमा पानीका मूल सुक्ने, तराईमा इनार, नल सुक्ने, धेरै गहिरोसम्म नल धसाउन पर्ने स्थित आएको हो ।

घर वा टोलमा खानेपानीको धारा आउनाले इनार, कुवा, पोखरी संरक्षणमा चासो हराउँदै गयो। मोटरबाटो बने पछि चौतारो वा हिड्ने बाटो बनाउने चलन पनि हराउँदै गए। अब त सबै कुरा सरकारले गरिदिनु पर्छ भन्ने मान्यता आउन थाल्यो। वर्षामा परेको पानी राम्ररी सोसिने व्यवस्था नगरे हामीलाई हिउँदमा सधै पानीको हाहाकार हुनेछ। हिउँदमा हुने सुख्‍खाको सामना गर्न वर्षाको पानीलाई जलाधारमा सञ्चय गर्नुको विकल्प नै छैन। हामी वर्षायामका लागि चाहिने दाउरा हिउँदमा जम्मा पारेर कट्कुरोमा राख्छौं। त्यसरी नै हिउँदका लागि वर्षाको पानी जम्मा पारेर राख्‍ने विभिन्न उपाय गर्नै पर्छ।

कमला नदीको बाढी पूर्वसूचना र विपद् पूर्वतयारीका शिलशिलामा सम्वत् २०७३ देखि २०७६ सम्म धनुषा ज़िल्लामा गैरहने र सिक्ने मौका मिल्यो। जनकपुरका रामआश्रय यादवले जनकपुर क्षेत्रको परिवर्तनको आफ्‍नो अनुभव बताएका थिए। ‘धेरै पोखरी थिए। जनकपुरमा अन्यत्र भन्दा कम गर्मी हुन्थ्यो, नलमा पानी कहिल्यै सुक्दैनथ्यो, हरियाली थियो जताततै आँपका बगैँचा थिए। तर अहिले पोखरी बगैंचा मासिँदै गए। कैयौं फुट तल पाइप धसाउँदा पनि नलमा पानी आउँदैन। बोरिङ्गले तान्दा जमिनको पानी झन् तल घटेको छ । अलिकति वर्ष्यो कि बाढ भैहाल्छ अनि पछि सुख्खा। जमिनमा सोसिने, पोखरीमा गएर जम्मा हुने ठाउँ छैन नि त।’ तर हिजो आजका विकास वा विपद् जोखिम कम गर्ने योजनामा उनले भनेका परिवर्तनको हेक्का राखिँदैन। दोहन र कङ्क्रिटको प्रयोगबाट अधिकारीहरूलाई हुने लाभको अर्थराजनीतिका कारण प्रकृतिमा आधारित समाधानमा उनीहरूको चाख जगाउनै मुश्किल हुन्छ।

मधेस, भावर, उपत्यका जस्ता समथर भूमिमा सतहको प्राकृतिक माटो रहने दिने, प्राकृतिक घोल, नालाहरू पुरिन नदिने, नदी, पोखरी किनारा, सडक किनार आदिमा बाँस निगालो र रैथाने रुखविरुवा संरक्षण गर्ने, वन वगिया जगेर्ना गर्ने, नदीका बगर उत्खनन्र दोहन नियन्त्रण गर्ने हो भने अझै पनि जलाधार पुनर्भरण सम्भव छ। गतिला परम्परागत अभ्यासहरू अपनाएर सुरक्षित दिगो विकास गर्न सकिन्छ। प्रकृतिको जगेर्ना गर्न प्राकृतिक उपाय नै चाहिन्छन्।

पहाड र हिमालमा जलाधार संरक्षण संवेदनशील पद्धति हो। घना जङ्गल भएका क्षेत्रमा पनि पहिरो गएका छन्। पहाडमा जमिनको भिरालोपना, माटोको किसिम, जमिनको मुनि रहेको चट्टानको अवस्थाले वर्षाको पानी सोसिने, अडिने र मूलबाट बाहिर निस्कने प्रक्रिया निर्धारण गर्छन्। जस्तैः- पहिरो जाने जोखिम भएका ठाउँमा पोखरी बनाउँदा झनै जोखिम बढ्न सक्छ। त्यसैले जलाधार क्षेत्र र त्यसको भौगर्भिक अवस्था पहिचान गरेर पानीका मुहानका लागि जलाधार संरक्षणका काम गर्नु उपयुक्त हुन्छ।

हिमाल, पहाड र तराईमा माटोको पिँध र डिल भएका पोखरी सम्बद्र्धन गर्ने अभियानलाई अगाडि बढाउनै पर्छ। उपयोग नभएका इनार, सुकेका तलाउमा कुलो, बलेसीबाट जलरोपण गर्नुपर्छ। यसलाई परम्परागत असल मान्यतासँग सामञ्जस्यता ल्याउन जरुरी छ। जलाधार संरक्षणमा राजनीतिक समर्थन जुटाउनु अपरिहार्य छ।   स्वागत द्वार र भ्यु टावर बनाउने चलनलाई पोखरी र चौतारो बनाउने चलनले जित्नै पर्छ। हिउँदको सुख्खाले खानेपानीको हाहाकार, चारैतिर डढेलो, हावामा धुँवा, धुलो, जमिनलाई सुख्खा र मरुभूमि सरह बनाउँदैछ। टावरबाट यस्तो सेरोफेरो हेरेर कसलाई रमाइलो होला र!

[i] https://www.hydratelife.org/the-story-of-ralegan-siddhi-bringing-water-back-to-life/

[ii] https://www.preventionweb.net/files/13927_doc18005contenido.pdf. Last accessed on 31 July 2021.